१४ आश्विन २०७९, शुक्रबार

तानाशाही सनकको हारमा लोकतन्त्र उत्सव

१२ फाल्गुन २०७७, बुधबार
तानाशाही सनकको हारमा लोकतन्त्र उत्सव

काठमाडौ : तीन वर्षअघि केपी ओलीले प्रधानमन्त्रीको रूपमा शपथग्रहण गर्दै गर्दा देश उनको विजयप्रति नतमस्तक थियो । इतिहासदेखिको विपन्नता र अनन्त संक्रमणकालले कुपोषित देशले आशाको नजरले ओलीतर्फ हेरिरहेको थियो । लोकतान्त्रिक व्यवस्थाको सबैभन्दा शक्तिशाली प्रधानमन्त्री पाएर देश र जनता समृद्ध भविष्यप्रति आशावादी थिए । तर, सार्वभौम जनता र संसद्को अमूल्य मतलाई ओलीले जिम्मेवारी होइन, अहंकारी अस्त्रका रूपमा प्रयोग गरे । उनले यो तीन वर्षमा जनताको विश्वासमाथि विध्वंस नै मच्याए । त्यसैले हिजो ओलीको आगमनमा आाशावादी देश आज ओली प्रवृत्तिको अवसानमा उत्सव मनाउँदै छ । किनकि यो तानाशाही सनकको हार, लोकतन्त्रको जित र भविष्यका लागि चेतावनी हो । 

५ पुस ०७७ मा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले गरेको संसद् विघटन खासमा जनमतको अपहरण र संविधानको हत्या थियो । प्रधानमन्त्रीको निजी संकटलाई राष्ट्रको संकटमा बदल्ने निम्छरो तानाशाही उपक्रम थियो । सम्मानित सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ । यो लोकतन्त्रको जित हो र नागरिकका रूपमा स्वयं केपी ओलीको पनि जित हो । किनकि जनमत पाएर सत्तामा पुगेका कुनै पनि नेता भोलि तानाशाह बन्न पाउनेछैन, जननिर्वाचित मञ्चमा तोडफोड गर्न पाउनेछैन, त्यस्तो तानाशाहको शासन नागरिक केपी ओलीले पनि भोग्नुपर्ने छैन, सर्वोच्चको फैसलाले प्रत्याभूत गरेको छ । 

लोकतन्त्रमा कार्यपालिकाको हरेक कदमको सार्वजनिक संपरीक्षण हुन्छ, आलोचना हुन्छ, प्रतिरोध पनि हुन्छ । तर, इतिहासको अद्वितीय प्रधानमन्त्रीजस्तो ओलीले आलोचनाविहीन शासनको अभ्यास गर्न खोजे । आलोचकलाई दुस्मन घोषणा गरेर तीविरुद्ध युद्ध घोषणा गर्दै ‘साइबर सेना’ परिचालन गरे । विश्वविद्यालयमा पढ्दै गरेका विद्यार्थी, हुर्कंदै गरेका युवा तथा पेसाकर्मीलाई उनले बहसमा होइन, गालीगलौजमा उतारे । खासमा आफ्नै समर्थकलाई असामाजिक र असभ्य बन भनेर उनीहरूको व्यक्तित्वमाथि पनि अत्याचार गरे । संविधानअनुसार पाएको शक्तिलाई अतिरञ्जित गरेर उनले संविधानलाई च्यातचुत पार्ने धृष्टता गरे । तर, ओली प्रवृत्तिलाई अब भने चेतना भएको हुनुपर्छ– जनताको मत चिट्ठा होइन, जवाफदेहितासहितको जिम्मेवारी हो । ओलीको नामसँग जोडिएर यो तथ्य देशको संवैधानिक तथा राजनीतिक इतिहासमा अभिलिखित भएको छ । नयाँपत्रीकाबाट

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo