१४ आश्विन २०७९, शुक्रबार

उर्लाबारी प्रविन मृत्यु प्रकरण; मिसिलमा भुलवश फोटो फरक पर्‍यो : प्रहरी

१२ फाल्गुन २०७७, बुधबार
उर्लाबारी प्रविन मृत्यु प्रकरण; मिसिलमा भुलवश फोटो फरक पर्‍यो : प्रहरी

विराटनगर । मोरङको उर्लाबारीका युवा प्रविन बास्तोला मृत्यु प्रकरणमा स्थानीय र आफन्तले उठाएको जिज्ञासा र आशंका निरूपण गर्न प्रहरीले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले आज विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी घटनाको अनुसन्धान र  प्रहरीले हालसम्म प्राप्त गरेका उपलब्धिबारे जानकारी गराएका हुन् । एसपी खड्काले मिसिलमा भुलवश मृतकको ठाउँमा अरुको तस्बिर परेकै आधारमा फितलो अनुसन्धान भएको वा प्रहरीले घटनालाई कमजोर बनाएको भन्न नमिल्ने बताए ।

मोरङको उर्लाबारी–५ का ३१ वर्षीय प्रविन बास्तोला गएको पुस ५ गते मृत फेला परेका थिए । सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन (मिसिल) बुझाउँदा मृतकको तीनवटा फोटो राखेकोमा एउटा फोटो भने अर्कै व्यक्तिको परेको थियो ।

एसपी खड्काले भने, “तस्बिर फरक परे पनि मृतकको परिचय फेरिएको छैन । हामीले कर्तव्य ज्यानसम्बन्धी अपराधमै मुद्दा चलाउछौँ । मुद्दा किनारा लागेको होइन, थप दुई आशंकितलाई पक्राउ गर्दै छौँ ।“ एसपी खड्काले प्रहरीबाट कमजोरी भए/नभएको अनुसन्धान गर्न डीएसपी नेतृत्वको छानबिन समितिले काम थालिसकेको जानकारी दिए ।

मृत्यु शंकास्पद भन्दै आफन्तले पुस ९ गते उर्लाबारी–६ का ३१ वर्षीय राजेश रणपहेलीसहितका विरुद्ध इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिएका थिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo