१३ आश्विन २०७९, बिहीबार

घर बनाउँदा कस्तो डन्डी प्रयोग गर्ने ?

२ चैत्र २०७७, सोमबार
घर बनाउँदा कस्तो डन्डी प्रयोग गर्ने ?

फलामे डन्डी घर बनाउँदा नभई नहुने महत्वपूर्ण निर्माण सामग्री हो । जसको गुणस्तरले तपाईंको घर कति बलियो वा कमजोर बन्यो भन्ने निर्धारण गर्छ । बजारमा अनेक खालका डण्डी छन् र हरेक डण्डीले बिभिन्न खाले प्राबिधिक शब्दको बिशेषण जोडेर प्रचारप्रसार गरिरहेका हुन्छन् । जसले गर्दा डण्डी छनौटमा उपभोक्ता सवैभन्दा धेरै अलमलमा पर्छन् । 

२०७२ सालको भूकम्पछि डण्डीको गुणस्तरका बिषयमा धेरै उपयोक्ताको चासो बढेको पाइन्छ । घर खरिदका बेला सवैभन्दा सोधिने प्रश्न हो– तपाइले कुन ब्राण्डको डण्डी प्रयोग गर्नुभएको हो ? कति एमएमको डण्डी प्रयोग भएको छ ? आदिआदि । 

आज हामी तपाईलाई घर बनाउँदा प्रयोग हुने फलामे डण्डीका बिषयमा विस्तृतमा जानकारी दिने छौं जसले तपाइका धेरै प्रश्नको उत्तर दिनेछ र स्पष्ट पार्ने छ । 

गुणस्तर चिन्हको भर 

नेपाल सरकारले डण्डीहरुको गुणतस्र परीक्षण गरी उनीहरुलाई गुणस्तर चिन्ह प्रदान गर्ने गर्छ । तपाईंले बजारमा डन्डी खरिद गर्न जाँदा सबैभन्दा पहिला आफूले खरिद गर्न लागेको डन्डी गुणस्तर चिन्ह प्राप्त हो÷होइन हेर्नुपर्छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले छडका लागि निश्चित मापदण्ड तोकेको छ । सो मापदण्डअनुसार उत्पादित छड गुणस्तरीय हुने विभागका महानिर्देशक विश्वबाबु पुडासैनी बताउँछन् । 

फलामको ठूलाठूला ब्लेडलाई पगालेर डन्डी उत्पादन गरिन्छ । अन्तर्राष्ट्रिय गुणस्तरको डन्डीमा लचिलोपन (डक्टिलिटी) र मजबुती (स्ट्रेन्थ) बढी हुन्छ । मापदण्डअनुसार उत्पादित छड सुरक्षाका दृष्टिले बलिया हुन्छन् ।

 तर, बजारमा कम गुणस्तरको छड पनि भेटिन्छ । हिजोआज ‘नेपाल गुणस्तर तथा नापतौल विभागले कम गुणस्तरका छड उत्पादन गर्ने उद्योग बन्द गरायो’ भन्ने खालका समाचार बाहिरिएका छन् । विभागले समय–समयमा बजारबाट नमुना ल्याएर डन्डीको गुणस्तर जाँच गर्छ । गुणस्तर तलमाथि भए कारबाही गर्छ । 

फलामको ब्लेडबाट बनेको डन्डी बलियो हुन्छ । तर, कवाडी फलामबाट बनेको डन्डी गुणस्तरीय नहुन सक्छ । तर, उद्योगले कवाडीबाट बनेका डन्डीलाई पनि बलियो भनेर बिक्री गरिरहेका हुन्छन् । कवाडी पगालेर बनाइएको डन्डीमा लचकता र मजबुती हुँदैन । ‘यस्तो फलाम पहिल्यै बिग्रिएर काम नलाग्ने भइसकेको हुन्छ,’ स्ट्रक्चर डिजाइन एन्ड सर्भिसेजका प्रोजेक्ट म्यानेजर रमेश फुयाल भन्छन्, ‘एकचोटि प्रयोगमा आइसकेको फलाम पगालेर बनाएको डन्डी बलियो हुँदैन ।’

गुणस्तर विभागले गुणस्तरयुक्त छडका लागि मजबुती, तौल, बेन्ड, रिबेन्ड, बोन्डलगायत निश्चित मापदण्ड तोकेको छ ।  डन्डीमा पूर्णतया फलाम मात्र नभई अन्य तत्वको पनि मिश्रण हुन्छ ।

गुणस्तर विभागले रासायनिक तत्वको पनि निश्चित मापदण्ड तोकेको छ । डन्डीमा फस्फरसलगायत तत्व हुन्छ । यस्ता तत्व बढी भयो भने डन्डी कमजोर हुन्छ । उद्योगहरूले गरेको टेस्ट रिपोर्टमा लचकता कति छ भनेर लेखेको हुन्छ । डन्डीको भारवाहन क्षमता उच्चतम हुनुपर्ने फुयाल बताउँछन् ।

गुणस्तर विभाग ब्लेडबाट बनेको डन्डीको गुणस्तर परीक्षण गरी एनएस चिन्ह प्रदान गरे पनि कवाडीबाट बनाइएको डन्डी न्यून गुणस्तरको हुन्छ भनेर उपभोक्तालाई सचेत गराउन चुक्दै आइरहेको छ । उद्योगले पनि ब्लेड र कवाडी फलामबाट बनेको डन्डीलाई एउटै बास्केटमा राखेर प्रचार गर्ने हुनाले उपभोक्ता झुक्किने सम्भावना बढी रहेको फुयाल बताउँछन् ।

 ‘नेपाल गुणस्तर चिन्ह अंकित भएको डन्डी हेरेर खरिद गरेमा कवाडी र जर्ती फलामबाट बनेको डन्डी प्रयोग गर्नबाट जोगिन सकिन्छ,’ उनी भन्छन् । घर निर्माण गर्दा निर्माण सामग्रीका बारेमा प्राविधिक वा इन्जिनियरसँग परामर्श लिनु उपयुक्त हुने उनको भनाइ छ । उनी थप्छन्, ‘प्राविधिक र इन्जिनियरसँग परामर्श लिएर डन्डी खरिद गरेमा कमसल डन्डी प्रयोग गर्नबाट जोगिन सकिन्छ ।’

दुई प्रकारको डन्डी

फलामे डन्डी टीएमटी बार र टोर स्टिल गरी दुई प्रकारका हुन्छन् । डन्डीको वरिपरि रेसा भएको टीएमटी हो भने सर्लक्क परेको टोर स्टिल डन्डी हो । अहिले टोर स्टिल डन्डी त्यति प्रयोगमा छैन । आजभन्दा २५-३० वर्ष अगाडिसम्म टोर स्टिल डन्डी प्रयोग हुने गरेको फुयाल बताउँछन् । 

अहिले सबै उद्योगले टीएमटी बार उत्पादन गर्छन् । घर र भवन निर्माणमा टीएमटी डन्डी नै प्रयोगमा आइरहेको छ । टीएमटी बार ८ एमएम, १० एमएम, १२ एमएम, १६ एमएम, २० एमएम, ३२ एमएम, ४० एमएमलगायत साइजमा उपलब्ध हुने फुयाल बताउँछन् । 

कुन ठाउँमा कस्तो डण्डी ? 

भवन विभागले भूकम्पपछि कस्तो घर र भवन बनाउन कस्तो डन्डी कसरी प्रयोग गर्ने भनेर स्पष्ट मापदण्ड बनाएको छ । सोही मापदण्डका आधारमा बेसमेन्ट, पिलर, भुइँतला माथिल्लो तलामा कस्तो डन्डी राख्ने निर्धारण हुन्छ ।

फुयालका अनुसार विभागको मापदण्डमा घर बनाउँदा फिलरमा १६ र १२ एमएमको डन्डी प्रयोग गर्न भनेको छ । न्यूनतम १२ एमएमको डन्डी हुनैपर्छ । ढलानमा बढी ८ र १० एमएमको डन्डी प्रयोग हुन्छ । स्ट्राप बिममा २० एमएमको डन्डी पनि प्रयोग हुँदै आएको छ । अप्ठ्यारो स्थान र माटो कमजोर भएको ठाउँमा बनाइने घरको बिम र पिलरमा पनि २० एमएमको डन्डी प्रयोग गर्नुपर्ने हुन सक्छ ।

यो सबै निक्र्यौल स्ट्रक्चरल इन्जिनियरले गर्छन् । ‘घरको संरचनाअनुसार डन्डीले लोड थाम्नुपर्ने हुन्छ, आर्किटेक्टले बनाएको डिजाइनअनुसार डन्डी राख्नुपर्छ,’ फुयाल भन्छन्, ‘आर्किटेक्ट इन्जिनियरले घरको डिजाइन गर्छन् । त्यसपछि स्ट्रक्चर इन्जिनियरले घरको डिजाइन र रिपोर्ट विश्लेषण गरेर घरको पिलरमा कति एमएमको डन्डी राख्ने, कति फरकमा राख्ने भनेर निर्धारण गर्छन् ।’

घरको नक्सा तयार गर्ने बेलामै कस्तो डन्डी प्रयोग गर्ने भनेर खुलाइएको हुन्छ । डन्डी पसलमा गएर एनएस चिन्ह हेरेर इन्जिनियरको सल्लाह अनुसारको डन्डी खरिद गर्नुपर्छ ।

 कति ग्रेडका डण्डी, कुन राम्रो ? 

सामान्यतया जति बढि ग्रेड भयो डण्डी त्यति नै बलियो हुन्छ । नेपाली बजारमा ४१५, ५०० र ५०० डी ग्रेडका डण्डी उपलब्ध छन् । सतहीरुपमा हेर्दा ४१५ भन्दा ५०० ग्रेडको डण्डी बलियो हुन्छ । तर, हाम्रो जस्तो भूकम्पीय जोखिम भएको ठाउँमा बलियो डण्डीले बनाएको घर नै सुरक्षित हुन्छ भन्ने ग्यारेन्टी हुन्न । किनकी डण्डीमा लचिलोपना भएन भने बलियो डण्डी भूकम्पका बेला भाँचिने डर हुन्छ ।

 त्यसैले नेपालको सन्दर्भमा बलियो डण्डी त चाहिन्छ तर, त्यसोसँगै लचकताको प्रतिशत पनि ख्याल गर्नुपर्छ । जस्तो कि, ४१५ ग्रेडको डण्डीमा लचकता(डक्टीलिटी)को मात्रा १४.५ प्रतिशत हुन्छ । ५०० ग्रेडको डण्डीमा भने लचकता १२ प्रतिशतमात्र हुन्छ । कुनैपनि डण्डीको नामसँगै ५०० वा एफई ५०० उल्लेख छ भने तपाइले बुझ्नुपर्छ कि यो ५०० ग्रेडको डण्डी हो र लचकता १२ प्रतिशतमात्र हुन्छ । 

भूकम्पछिको आवश्यकतालाई हेरेर केही उद्योगहरुले डक्टीलिटी बढी भएको ५०० ग्रेडको डण्डी ५०० डी उत्पादन गर्न थालेका छन् । जसमा लचकता १६ प्रतिशत हुने ब्यबसायीहरु बताउँछन् ।

 समग्रमा तपाइले घर बनाउने डण्डी छान्दा दुई वटा कुरालाई ख्याल गर्नुपर्छ। पहिलो, आर्कषक बिज्ञापनको भर परेर कवाडीबाट बनेका डण्डीहरु किन्ने खतराबाट बच्नु  पर्छ । दोस्रो, कुन ग्रेडको डण्डी हो त्यसको यकिन गरेर उच्च लचकतायुक्त डण्डी प्रयोग गर्नुपर्छ।

मुख्यतः डण्डीको ब्राण्ड छान्ने कुरामा भर्खर घर बनाउन लागेका नयाँ उपभोक्ताकै निर्णय अन्तिम हुने भएकाले आम उपभोक्ता यो बिषयमा चनाखो रहनुपर्छ । कुन ठाउँमा कति एमएमको डण्डी प्रयोग गर्ने, कतिवटा डण्डी हाल्ने जस्ता प्राबिधिक कुरा त इन्जिनियरले निर्णय गरिहाल्छन् । 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo