KhabarUjyalo

महाकालीमा भारतको ज्यादती रोक्नुको सट्टा झन् तीव्रता

२९ जेष्ठ २०७८, शनिबार
महाकालीमा भारतको ज्यादती रोक्नुको सट्टा झन् तीव्रता

काठमाडौं । नेपाली भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा नियन्त्रणमा लिएर तिब्बतमा रहेको धार्मिक स्थल मानसरोवरसम्म जाने बाटो निर्माणलाई भारतले रोक्नुको सट्टा झन् तीव्रता दिएको छ ।

नेपाली भूमि हुँदै मानसरोवर जाने ‘सिंगल लेन’ सडकको नयाँदिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेको १३ महिनापछि शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले थप प्रगति बाहिर ल्याएका हुन् । नेपाली भूमिमा भारतले सडक निर्माण गरेकामा नेपालले असहमति जनाउँदै आएको छ ।

गत वर्ष उक्त सीमा विवादकै विषयमा परराष्ट्र सचिवस्तरीय र परराष्ट्रमन्त्री संयुक्त संयन्त्रको वार्ता भए पनि भारतले निर्माण रोकेको छैन । सीमा क्षेत्रमा सडक निर्माण गर्ने सुरक्षा निकाय बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) लाई ‘कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो निर्माण गरेको’ भन्दै शुक्रबार रक्षामन्त्री सिंहले प्रशंसा गरेपछि ती क्षेत्रमा निर्माण भइरहेको सडकलाई भारतले अहिले पनि कति प्राथमिकता दिइरहेको छ भन्ने झन् स्पष्ट भएको हो ।

सिंहले नै २०७७ वैशाख २६ मा दिल्लीबाटै यो बाटो निर्माण शुभारम्भ गरेका थिए । शुक्रबार उनले नै नयाँदिल्लीबाट बीआरओलाई सम्बोधन गर्दै भने, ‘पछिल्ला पाँच–सात वर्षमा बीआरओले उल्लेखनीय उपलब्धि गर्‍यो । चाहे यो अटल टर्नेल रोहताजस्ता नयाँ विश्वस्तरीय निर्माण थालनी होस् वा कैलाश मानसरोवर यात्राका लागि नयाँ मार्ग निर्माण होस्, बीआरओले नयाँ रेकर्ड कायम गरेको छ ।’

भारतले भूमि अतिक्रमण गरेपछि नेपालले २०७७ वैशाख ३१ गते सशस्त्र प्रहरी बल (एपीएफ) को ३५ जनाको सुरक्षा टोली छाङरुमा पठाएर गुल्म राख्ने निर्णय गरेको थियो ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo